जनआन्दोलन दिवस चैत २४



 चैत २४ नेपालको इतिहासमा प्रतिरोध, बलिदान र परिवर्तनको पर्याय दिन हो । २०३५ साल चैत २४ गते नेपालका सचेत, जुझारु युवा विद्यार्थीहरूले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई सैनिक सरकारले दिएको मृत्युदण्डको विरोधमा काठमाडौँमा विशाल र सशक्त प्रदर्शन गरेका थिए । यही प्रदर्शनका कारण २०१७ सालबाट लागू भएको निरङ्कुश पञ्चायती व्यवस्था अस्तव्यस्त भएको थियो । भुट्टोलाई दिइएको मृत्युदण्डको विरोधमा जागरुक, जुझारु युवा विद्यार्थीले आन्दोलन सुरु गरेको दिन थियो चैत २४ । पञ्चायती व्यवस्थाको रापले पिल्सिएर शीतलता खोज्दै बसेका राजनीतिक दलका नेताको तत्कालीन अवस्थाको विश्लेषणमा असम्भव देखिएको आन्दोलनलाई जुझारु र आमूल परिवर्तनका पक्षधर युवा विद्यार्थीहरूले सम्भव बनाएको दिन थियो चैत २४ 

पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन गर्नु मृत्युलाई निमन्त्रणा दिनुपर्ने अवस्थामा जुझारु युवा विद्यार्थीहरूले आफ्नो मृत्युको आफैँले निमन्त्रणापत्र वितरण गरी आन्दोलनमा होमिएका थिए । सो आन्दोलन अगाडि बढ्नेक्रममा युवा विद्यार्थीले मुक्ति या मृत्यु रोज्नुपर्ने परिस्थिति बने पनि त्यसले आन्दोलन अझै चर्काएर लैजान प्रेरित गरयो । आन्दोलन सशक्त ढङ्गबाट अगाडि बढ्दै गएपछि त्यसमा जनसाधारणको पनि सक्रिय र सशक्त सहभागिता हुन थाल्यो । अन्ततः भुट्टोको फासिविरुद्ध गरिएको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा मात्रै नभई समग्र राजतन्त्रको विरोधमा काठमाडौँमै ‘राजतन्त्र मुर्दावाद’ को नारा घन्कियो । यसरी ‘राजतन्त्र मुर्दावाद’ को नारा घन्किएपछि जनताको सशक्त आन्दोलन रोक्नका लागि शासकहरू तत्कालीन अवस्थामा निर्विकल्प मानिएको पञ्चायती व्यवस्थामा जनमत सङ्ग्रह गर्ने घोषणा गर्न बाध्य भए । जनमत सङ्ग्रहको घोषणाले बलिदानको कोटा चुक्ता गर्न तयार आन्दोलनकारीहरू थप उत्साहित बने । देश राजनीतिक आन्दोलनको उर्वराभूमिमा परिणत भयो । त्यसयता भएका सबै प्रकारका आन्दोलनको पृष्ठभूमि २०३५ सालको चैत २४ बाट थालिएको विद्यार्थी आन्दोलन हो ।

 २०३५÷०३६ सालमा जागरुक युवा विद्यार्थीले आन्दोलनबाट जोतेर उर्वरा नबनाइदिएको भए बहुदलीय पुनस्र्थापनाका लागि राजनीतिक दलहरूले २०४६ सालमा गरेको आन्दोलन सम्भव हुने थिएन । यसरी चैत २४ गते नेपालको राजनीतिक इतिहासमा आन्दोलनको पर्यायका रूपमा स्थापित भएको छ । चैत २४ निरङ्कुशविरोधी आन्दोलनको प्रतीक पनि हो । सामन्तवादी बज्रलेपनयुक्त भूमिलाई जोतेर आन्दोलनको वातावरण बनाउने र परिवर्तनको बीजारोपण गर्ने दिन पनि चैत २४ नै हो । मृत्युको प्रतिरोध गर्दै मुक्तिका लागि अगाडि बढ्न प्रेरित गर्ने दिन चैत २४ नै हो । अग्रगामी परिवर्तनका लागि सम्झौताहीन सङ्घर्षको प्रेरणाको दिन चैत २४ हो । चैत २४ आन्दोलनको, विद्रोहको सार र रूप दुवै हो । जनयुद्धमा नेपाली सेनाको हेलिकप्टरलाई जनमुक्ति सेनाद्वारा खसालिएको दिन पनि चैत २४ हो । यसैले त अग्रगामी परिवर्तन र मुक्तिकामीहरूका लागि चैत २४ स्मरणीय दिन बनेको छ । यसैले त यो दिन ऐतिहासिक जनआन्दोलन दिवसका रूपमा स्थापित भएको छ । तसर्थ, महान् जनयुद्ध, जनआन्दोलन र एकीकृत जनक्रान्तिको लक्ष्यलाई कदापि नबिर्सौं । जनताका सपना साकार तुल्याउन इमानदार बनौँ । एकपटक बलिदानीपूर्ण ऐतिहासिक विरासततर्फ फर्किएर हेरौँ । जनताका आकाङ्क्षा एवम् महान् सहिदका सपनालाई साकार पार्न ऐतिहासिक जनआन्दोलन दिवस चैत २४ लाई जनताको बलिदानीपूर्ण, ऐतिहासिक र गौरवशाली इतिहासको रूपमा स्मरण गरौँ ! एकपटक फेरि दृढता र प्रतिबध्दताका साथ नेपालमा दलाल संसदीय व्यवस्थाको समूल अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ सम्पूर्ण शक्ति केन्द्रित गरौँ !




Powered by Blogger.